काठमाडौँ, कात्तिक ७ – लोकप्रिय गायिका एलिना चौहानले यस वर्षको भाइटीका अमेरिकामै मनाएकी छन्। सांगीतिक यात्रामा रहेका उनले त्यहीँ रहेका गायक प्रताप दासलाई भाइटीका लगाउँदै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी हुन्।
भिडियोसहित एलिनाले लेखेकी छन्, “दाजुबहिनीको पवित्र सम्बन्धमा पनि ‘दाजुबहिनी’ हो भनेर प्रमाणित गर्नुपर्ने हाम्रो समाज।” उनको यो अभिव्यक्ति पछिल्ला दिनमा सामाजिक सञ्जालमा निकै चर्चा बटुल्दैछ।
एलिना र प्रतापबीच अफेयर भएको हल्ला चलेको केही समयपछि आएको यो भिडियोले चर्चालाई नयाँ मोड दिएको छ। अफवाहका बीच पनि उनीहरूले तिहारको अवसरमा सँगै गीत सार्वजनिक गर्दै भाइबहिनीको सम्बन्धलाई जोड दिने सन्देश दिएका छन्।
तिहार गीतको साथमा आएको भिडियोमा उनीहरूको रमाइलो माहोल देख्न सकिन्छ। एलिनाले भिडियोमार्फत आफ्ना प्रशंसकलाई शुभकामना दिँदै लेखेकी छन्, “ह्याप्पी भाइटीका।”
अमेरिकाबाट कार्यक्रम सकेर उनीहरू छिट्टै स्वदेश फर्किने तयारीमा रहेको बुझिएको छ।
प्रतिक्रिया दिनुहोस