धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले मदौरे पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा गाउँपालिका उपसभापति तथा समाजसेवी मीनबहादुर बानियाँमाथि सांकेतिक आक्रमण भएको छ।
स्थानीय व्यक्ति अनिलकुमार बानियाँले आफ्नो घर अगाडिबाट बाटो निर्माण गर्न नदिने भन्दै अवरोध सिर्जना गरेपछि विवाद उत्पन्न भएको हो। सो क्रममा उपसभापति बानियाँमाथि गालीगलौज तथा दुर्व्यवहार भएको बताइएको छ।
गोरेटो बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र बानियाँका अनुसार सार्वजनिक हितका लागि अघि बढाइएको योजनामा अनावश्यक अवरोध सिर्जना हुनु दुःखद विषय हो। स्थानीयवासीहरूले सार्वजनिक बाटो निर्माणमा बाधा पुर्याउनु अनुचित भएको र यसले समाजमा द्वन्द्वको अवस्था सिर्जना गर्न सक्ने बताएका छन्।
उक्त गोरेटो बाटो निर्माणका लागि गङ्गाजमुना गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। योजना उपभोक्ता समितिमार्फत कार्यान्वयनको प्रक्रियामा रहेको छ।
यसैबीच, अनिलकुमार बानियाँविरुद्ध गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गतको इलाका प्रहरी कार्यालय फुलखर्कमा यसअघि पनि दर्जनौँ उजुरी परेको स्थानीयवासीहरूको भनाइ छ। तर ती उजुरीहरूमा हालसम्म कुनै ठोस कारबाही नभएको र अधिकांश घटनाहरू मेलमिलापमै सीमित हुने गरेको एक स्थानीयवासीले बताएका छन्।
सार्वजनिक हितका योजनामा व्यक्तिगत स्वार्थका कारण बारम्बार अवरोध र उजुरीपछि पनि कारबाही नहुनुले समाजमा नकारात्मक सन्देश जाने स्थानीयहरूको गुनासो छ। उनीहरूले यस्ता विषयमा सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने माग गरेका छन्।
गोरेटो बाटोको सर्वेक्षणका क्रममा भएको उक्त घटनालाई उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र बानियाँ, वडा सदस्य ऋषि अधिकारी तथा इन्जिनियर घमण्ड विष्टले प्रत्यक्ष रूपमा देखेका थिए।
प्रतिक्रिया दिनुहोस