१५ चैत २०८२ आईतबार | 29 Mar 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपाली महिला फुटबललाई चिन्ता: कप्तान साम्बा गम्भीर घाइते



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १४४
  • काठमाडौं, पुस २३ — नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा चर्चित फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ गम्भीर घुँडाको चोटका कारण यो सिजन मैदानबाहिर रहने भएकी छिन्।

    अस्ट्रेलियाको निन्जा ए–लिग खेलिरहेकी साम्बा हाल न्युजिल्यान्डको एकमात्र क्लब वेलिङटन फोनिक्ससँग आबद्ध छिन्। यसै सिजन क्लबमा अनुबन्धित भएकी उनले तीन गोल गरिसकेकी थिइन्। तर ब्रिस्बेन रोअरविरुद्धको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किँदा उनी घाइते भइन्।

    क्लबले सार्वजनिक गरेको एमआरआई रिपोर्टअनुसार साम्बाको दाहिने घुँडाको एसीएल पूर्ण रूपमा च्यातिएको छ। चिकित्सकका अनुसार यस्तो चोटबाट पूर्ण रूपमा निको हुन ९ देखि १२ महिना समय लाग्नेछ, जसका कारण उनले यो सिजनका बाँकी सबै खेल गुमाउनेछिन्।

    साम्बाको अनुपस्थितिलाई वेलिङटन फोनिक्सले ठूलो क्षतिका रूपमा लिएको छ। यसअघि पनि क्लबका दुई खेलाडी यस्तै गम्भीर चोटका कारण सिजनभर बाहिरिइसकेका छन्, जसले टोलीलाई थप चुनौती थपेको छ।

    टोलीकी मुख्य प्रशिक्षक बेभ प्रिस्टम्यानले साम्बाको चोटप्रति दुःख व्यक्त गर्दै भनिन्, “साम्बा हाम्रो टोलीकी अत्यन्तै महत्वपूर्ण र लोकप्रिय खेलाडी हुन्। उनको चोटले सबैलाई मर्माहत बनाएको छ। तर उनी चाँडै मैदान फर्कने दृढ संकल्पसहित पुनःस्थापनामा लाग्नेछिन्।”

    क्लबसँग साम्बाको दुई वर्षको सम्झौता रहेकाले उनी निको भएपछि पुनः वेलिङटन फोनिक्सकै जर्सीमा देखिनेछिन्। यता, साम्बाको स्थान पूर्ति गर्न क्लबले नयाँ फरवार्डको खोजी थालेको छ। तर खेलाडी दर्ता अवधि सकिएकाले क्लबले हाल स्वतन्त्र (फ्रि एजेन्ट) खेलाडी मात्र अनुबन्ध गर्न सक्नेछ।