४ जेठ २०८३ सोमबार | 18 May 2026 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ९७
  • काठमाडौं, फागुन २९ - काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन फेरि प्रभावित भएको छ। नुवाकोटको बञ्चरेडाँडा क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले पुराना सहमति कार्यान्वयन नभएको भन्दै फोहर विसर्जनमा अवरोध गरेका हुन्।

    स्थानीयको अवरोधपछि काठमाडौं महानगरपालिकाले फोहर बोकेर बञ्चरेडाँडातर्फ पुगेका गाडीलाई फिर्ता पठाउनुपरेको छ। यसले उपत्यकाभित्रको फोहर व्यवस्थापनमा पुनः समस्या सिर्जना भएको छ।

    स्थानीयवासीका अनुसार काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग यसअघि भएका सहमति कार्यान्वयन नभएकाले उनीहरूले फोहर फाल्न नदिने निर्णय गरेका हुन्। सहमति कार्यान्वयन नभएसम्म अवरोध जारी रहने उनीहरूको अडान छ।

    यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले स्थानीयसँग भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि केही समयका लागि फोहर व्यवस्थापन सहज भएको थियो। तर ती सहमति पूरा नभएको भन्दै स्थानीयले पुनः विरोध सुरु गरेका हुन्।

    नुवाकोटको ककनी गाउँपालिका–१, २ र ३ तथा धादिङको धुनीबेँसी नगरपालिका–१, ३ र ४ का प्रभावित स्थानीयले दुई जिल्लाको सीमास्थित ढाँडेस्थित सडकमा धर्ना दिँदै फोहर बोकेका गाडीलाई रोकिरहेका छन्।

    स्थानीयको आन्दोलनमा ककनी, बेलकोटगढी र धुनीबेँसीका जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरूले समेत समर्थन जनाएका छन्।