काठमाडौँ, जेठ ४ - परराष्ट्र मन्त्रालय ले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्ने सूचना गलत सावित भएपछि औपचारिक रूपमा माफी मागेको छ ।
मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा अमृत झाको मुद्दा अझै पनि इरानको स्थानीय अदालतमा विचाराधीन रहेको र उनी थुनामै रहेको स्पष्ट पारेको हो ।
मन्त्रालयका अनुसार अमृत झालाई इरानको किश्म आइल्यान्ड क्षेत्रमा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा पक्राउ गरिएको थियो । अमेरिका, इजरायल र इरानबीच तनाव सुरु हुनुअघि नै सन् २०२६ जनवरीको सुरुवातमा उनलाई अन्य ६ जना विदेशी नागरिकसँगै इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।
परराष्ट्र मन्त्रालयले सन् २०२६ अप्रिल १५ मा इरानका लागि नेपाली अवैतनिक वाणिज्यदूत शहराम शान्तियाइले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई अमृत झा रिहा भएको जानकारी पठाएको जनाएको छ । सोही सूचनाका आधारमा मन्त्रालयले झा रिहा भएको अनौपचारिक जानकारी सार्वजनिक गरेको थियो । त्यसपछि परराष्ट्र मन्त्रीले समेत सामाजिक सञ्जालमार्फत उक्त विषय सार्वजनिक गरेका थिए ।
तर केही दिनपछि प्राप्त नयाँ विवरणअनुसार अमृत झा रिहा नभएको र उनको मुद्दामा अदालतले ‘एक्सपर्ट रिपोर्ट’ माग गरेको खुलेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरूले झाको परिवारलाई समेत वास्तविक अवस्थाबारे जानकारी गराइसकेको उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार अहिले विज्ञ टोलीले प्रतिवेदन तयार पारेर अदालतमा बुझाउने प्रक्रिया अघि बढाइरहेको छ । इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यहाँको कानुनअनुसार नै अन्तिम निर्णय हुने जनाइएको छ । साथै अमृत झाको निष्पक्ष सुनुवाइ र आवश्यक सहयोगका लागि कूटनीतिक पहल निरन्तर जारी रहेको पनि मन्त्रालयले जनाएको छ ।
रिहा भएको भन्ने अपुष्ट सूचना सार्वजनिक हुँदा परिवार र सर्वसाधारणमा अन्योल सिर्जना भएको भन्दै मन्त्रालयले त्यसबाट परेको असुविधाप्रति क्षमा प्रकट गरेको छ ।
प्रतिक्रिया दिनुहोस